काठमाडौं । आज सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दैछ।
हरेक बर्ष गणतन्त्र दिवसकै दिन अर्थात जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने व्यवस्था संबिधानमै उल्लेख गरिएको छ । बजेट सार्वजनिकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो एक बजे बोलाइएको छ। त्यसअघि मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नेछ।
चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ५१ करोडको बजेट ल्याएको थियो। जसमा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैंया विनियोजन गरिएको थियो । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत हिस्सा स्वास्थ्यमा छुट्याउनु पर्छ भनेर विज्ञहरुले बर्षौ देखि आवाज उठाउँदै आएका छन् । तर गत वर्ष सरकारले ल्याएको बजेट मध्ये कुल बजेटको ५.७५ प्रतिशत मात्रै स्वास्थ्य क्षेत्रले पाएको थियो ।
बजेटमा केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र विज्ञहरूले सुझाव दिए जस्तै निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम बजेटमा अघि सारिएको छ। स्वास्थ्यका पूर्वाधार निर्माण, स्वास्थ्य बीमा, डिजिटल हेल्थ कार्यक्रम, आधारभूत र जीवनरक्षक औषधि तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गर्ने लगायतका कार्यक्रम आउने बताइएको छ।