काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले ७ औँ वार्षिकोत्सवको अवसरमा क्यान्सर सचेतना बढाउनका लागि शनिबार वाकाथान कार्यक्रमको आयोजना गरेको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. बिजेश राज घिमिरे सहित, अन्य चिकित्सकहरु स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सहभागितामा उक्त वाकाथान कार्यक्रम सम्पन्न गरिएको थियो । शनिबार लगनखेलबाट सुरु भएको उक्त वाकाथान सभा जावलाखेल सम्म पदयात्रा गरेका थिए । जावलाखेलमा पुगेर अस्पतालका डाक्टर, नर्स कर्मचारी तथा क्यान्सर विजेताहरुले जनचेतनामूलक सन्देशसहित नृत्य र मनोरन्जनात्मक प्रस्तुति समेत दिएका थिए ।
पदयात्रामा क्यान्सर सरुवा रोग होइन, गुणस्तरीय निदान र उपचार हाम्रो प्रतिबद्धता, समयमै उपचार क्यान्सरको निदान, क्यान्सर हुँदैमा डराउनु पर्दैन, क्यान्सरसँग लड्ने हो डराउने होइन, समय निकालेर आफू र आफ्नो स्वास्थ्य परीक्षण गरौँ, नेपालीको उपचार नेपालमा नै, क्यान्सरको जनचेतना आफ्नै घरबाट सुरु गरौँ, क्यान्सरसँग मिलेर जितौँ जस्ता प्लेकार्ड बोकिएको थियो ।
क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु भएकाले त्यसलाई कम गराउनका लागि यस्ता कार्यक्रमहरुको महत्व रहेकोले उक्त कार्यक्रमको आयोजना गरेको थियो।