काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरुले विशेष समयमा बोल्दै छाउपडी गोठमा बस्ने महिलाहरूमाथि आक्रमण हुने गरेको भन्दै विभिन्न प्रथाका नाममा महिलामाथि भइरहेको हिंसालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरुले धर्म र संस्कारका नाममा छाउगोठमा बस्ने महिलाहरू बलात्कार भएर, सर्पले टोकेर, चिसो लागेर मर्नुपर्ने अवस्थाले संविधानको उल्लङ्घन भएको, महिलामाथि चरम यातना भएको भन्दै त्यस्ता कुरीति हटाउन सबै लाग्नुपर्ने बताए।
सांसदहरुले नागरिकताबाट पाइरहेको वृद्ध भत्तालाई राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने नियम ज्येष्ठ नागरिकलाई दुख दिने नियत भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरुले शिक्षा र स्वास्थ्य नेपालमा धेरै महँगो भएको, ट्राफिक प्रहरीले लुकेर सवारी चालकलाई कारबाही गर्ने प्रक्रिया नमिलेको, मनसुनजन्य विपतबाट हुने क्षति न्युनिकरण गर्न सरकारले पूर्ण तयारी गर्नुपर्ने लगायतका धारणा राखेका छन् ।