काठमाडौँ । ‘झलनाथ खनाल सर्पपालन प्रतिष्ठान’ मा भएको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादवसहित पाँच जना दोषी ठहर भएका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना गरेको अभियोगमा मधेश सरकारका तत्कालीन मन्त्री कुमारसहित पाँच जना दोषी ठहरिएका हुन् ।
विशेष अदालतले प्रतिष्ठानमा भ्रष्टाचार गरेको अभियोगमा मधेस प्रदेशका तत्कालीन मन्त्री विजय कुमारका साथै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई भ्रष्टाचारी ठहर गरेको हो।
सर्पको विष संकलन, प्रसोधन र उत्पादन केन्द्र स्थापनाका नाममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टचार भएको भन्दै अभियोग पत्र दायर भएको थियो। उक्त रकम हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिव तथा प्रतिष्ठानका ४ पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
२०८० असोज २१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अख्तियारले दायर गरेको अभियोगमा उल्लेखित बिगो नै कायम हुनेगरी फैसला भएको र आगामी पेशीका दिन बाँकी सजाय निर्धारण हुने बताए ।