सर्लाही। सर्लाहीमा धारिलो हतियार प्रयोग गरि पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।
गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार उनको राति ११ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएकोमा उनी सँगै सुतेका थिए ।
हत्यापश्चात उनीहरू फरार रहेको उनले बताए । घरकै छेउको बाँसघारीबाट पूर्वमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार बरामद भएको छ । मन्त्री रायकै घरमा रहेको सो हतियारबाट उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ।