सल्यान । आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको छ ।
भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तर लगायतका चुनौतीका बाबजुद पनि जिल्लामा बिमा कार्यक्रम प्रभावकारी देखिएको स्वास्थ्य बिमा कार्यालय सल्यानले जनाएको छ । चार वर्ष अघि स्थापना भएको कम्पनीमा हालसम्म १५ हजार ६ सय ७३ जनाले स्वास्थ्य बिमा गरेको बिमा कार्यालय सल्यानका प्रमुख लाल बहादुर खड्काले जानकारी दिए। बिमाका लागी सामान्यतया ५ जनासम्मको परिवारले प्रति बर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ । उक्त रकमले पाँच जनासम्मको परिवारले एक लाखसम्म वार्षिक सेवा पाउने खड्काले बताउए। यस्तै ५ जना भन्दा बढीको परिवारले प्रतिसदस्य ७ सय प्रिमियम तिरेर २० हजारसम्मको सेवा उपलब्ध हुने उनको भनाई छ ।
सल्यान जिल्ला अस्पतालमा उपचारका लागी आउने बिरामीमध्ये करिब १५ प्रतिशत बिमितले सेवा लिने गरेका छन् । जसमा दम, प्रेसर सुगरलगायत रोग भएका ज्येष्ठ नागरिक र महिला बढी आउने गरेको सल्यान अस्पताल सल्यानका मेडिकल अधिकृत आकाश मण्डलले बताए । गरिब विपन्न परिवार जसलाई कुनै रोगको उपचारका लागि क्षमता भन्दा बाहिरको पछि छ । त्यस्ता रोगहरूका लागि स्वास्थ्य बिमा निकै प्रभावकारी छ उनले भने ।
बिमा बोर्डले ७० बर्ष पुगेका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका व्यक्ती तथा एड्स, क्षय रोगको निःशुल्क बिमा गर्ने गरेको छ । तर बिमा प्रभावकारिताका विषयमा आम नागरिकलाई अझै बुझाउन नसकेको शारदा नगरपालिका वडा नं-२ का वडाध्यक्ष सविन हमालको बुझाई छ । नेपाल सरकारले जुन योजनाका साथ स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ त्यस अनुसार भएको नपाइए पनि विमितहरुले पनि सहज रुपमा सेवा पाइरहेको उनको भनाई छ । स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने हमालले बताए ।