काठमाडौं । आधुनिक कामकाजको व्यस्तता, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उपलब्धता जस्ता कारणले पूर्ण स्तनपान गराउने नेपाली आमाको संख्या ५६ प्रतिशत रहेको छ ।
स्तनपान सप्ताहको अवसरमा परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको छ। यहि साउन १७ देखि २३ सम्म स्तनपान सप्ताह मनाईदै छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को तथ्यांक अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको पोषणशाखा प्रमुख लिलाबिक्रम थापाले बताए । यस्तै शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको उनले बताए ।
पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ। पूर्ण स्तनपानको दर माध्यमिक तहभन्दा बढी शिक्षा लिएका आमाहरुमा कम देखिएको छ। न्यून आय भएकामा ६४ प्रतिशतमा र उच्च आय भएका ४४ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेको देखिन्छ। उक्त सर्वेक्षणल नेपालमा बोतलपान गराएका शिशुको संख्या बागमती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको देखाएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन, १९ प्रतिशतमा कम तौल र ८३ प्रतिशतमा रक्तअल्पता पाइएको छ। संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको छ। सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने विज्ञहरु बताउँछन्।