चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको भएपछि पछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । अस्पतालमा उपचाररत क्यान्सर बिरामीलाई किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर पछि मृत्यु भएको हो ।
लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो । गुरुङको उपचारका क्रममा किमोको मात्रा बढी दिएपछि असार १३ गते राति मृत्यु भएको थियो ।
बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए । बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई जना नर्सलाई निलम्बन गरिएको हो । दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको अस्पतालले जनाएको छ ।