बुटवल । छाडा चौपाया (साँढे)ले आक्रमण गर्दा बुटवलमा एक महिलाको मृत्यु भएको छ ।
केही दिनअघि साँढेको आक्रमणबाट गम्भीर घाइते भई अस्पतालमा भर्ना भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको उपचारका क्रममा शनिबार राती मृत्यु भएको हो ।
डेरी पसलमा दूध लिन जाने क्रममा सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणबाट घाइते भएकी सीतालाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा उनको शनिबार राती मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए।
बुटवल उप-महानगर पालिकाले वडा नं.७ शिवनगरमा छाडा गाईरगोरुलाई ब्यपस्थापनका लागि नन्दिनी गौशाला निर्माण गरेको छ । तर, उक्त गौशालामा थप गाई गोरुको उचित व्यवस्थापन गर्न नसक्दा छाडा चौपायाकै कारण मानिसले अकालमा ज्यान गुमाउनु परेको बुटवल उप–महानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।
छाडा चौपायाका कारण मानिसले अकालमै ज्यान गुमाउनु परेको यो पहिलो घटना भने होइन । तथापि, गोशाला निर्माण पछि भने पहिलो घटना हो । सडकमा गाईगोरुको सङ्ख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको भए पनि व्यवस्थापनमा समस्या आएको उनको भनाई छ ।