सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत सात वर्ष देखि एक्सरे मेसिन थन्किएको छ । दक्ष जनशक्तिको अभावका कारण जडान गरेकै वर्षदेखि एक्सरे मेसिन प्रयोगमा नआई थन्किएको हो ।
नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन २०७४ मा युनिसेफले स्वास्थ्य मन्त्रालय अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्सरे मेसिन उपलब्ध गराएको थियो । युनिसेफले सहयोग गरेको मेसिन अहिलेसम्म प्रयोगमा आउन नसक्दा स्थानीय एक्सरे गर्नका लागि सल्यान जिल्ला अस्पताल तथा श्रीनगर बजारमा रहेका निजी अस्पताल धाउन बाध्य भएका छन् ।
सात वर्षदेखि कोठामा थन्किएको एक्सरे मेसिन सञ्चालनमा आउन नसक्दा समस्या भएको स्थानीय र्दीघ पुनले बताए । उनले भने ‘लामो समयदेखि डाक्टरविहीन रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आएपछि केही राहत भए पनि एक्सरे मेसिन र एम्बुलेन्स सञ्चालनमा आउन नसक्दा बिरामीले सास्ती खेप्नु परी रहेको छ ।’ एक्सरे मेसिन प्रयोगमा नआउँदा वडावासी मात्र नभई उपचारका लागि आउने झिम्पे, दहखोला, शारदा नगरपालिका–१३ स्यानीखालका बासिन्दा समस्यामा परेको पुनको भनाई छ ।
प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराका प्रमुख डा। राजन अधिकारीले मेसिनमा जोड्ने एक सानो सामग्री ल्याउन छुटेको भनेर त्यसबेला प्राविधिकले जडान गर्दागर्दै छाडेको र अहिलेसम्म त्यो सामग्रीको व्यवस्था गर्न नसक्दा सहयोग स्वरूप प्राप्त एक्सरे मेसिन सञ्चालनमा आउन नसकी कोठामा थन्किएको बताए।
छत्रेश्वरी गाउँपालिका–५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले स्वास्थ्य केन्द्रमा प्राविधिकको दरबन्दीसमेत नभएकाले एक्सरे मेसिन सञ्चालनमा आउन नसकेको बताए। एक्सरे मेसिन सञ्चालनका लागि गत वर्ष प्रदेश सरकारलाई पत्र पठाए पनि कुनै चासो नदिएको उनको भनाइ छ ।