काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'नेपाल हेल्थ समिट २०२४' आयोजना गर्ने भएको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको हो।
सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वाथ्य क्षत्रका विज्ञहरूको सहभागिता रहने छ । विज्ञको सल्लाहका आधारमा नेपालको शिक्षा प्रणाली सुधार्न के-के गर्नुपर्छ भन्ने विषयमा पनि छलफल गरिने बताइएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार 'नेपाल हेल्थ समिट २०२४' गर्ने निर्णय गरेका हुन् । सम्मेलनमार्फत स्वास्थ्य सुधारका लागि आवश्यक कार्यक्रम र नीति निर्माण तथा योजना बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
सम्मेलन आयोजना गर्न ९ सदस्य कार्यदल गठन गरेको छ । जसमा मेडिकल काउन्सिलका पदाधिकारीदेखि स्वास्थ्य विज्ञ डा. शम्भु आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला लगायत रहेका छन् । कार्यदलको सुझावका आधारमा स्वास्थ्य मन्त्रालयले सम्मेलनको ढाँचा तयार पार्ने जनाएको छ ।