काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि काम भइरहेको बताएका छन् ।
बुधबार संसद् बैठकमा संसद्को जवाफ दिदैँ मन्त्री पौडेलले हैजा नियन्त्रणका लागि काम भइरहेको बताए । रास्वपा सांसद डा। तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र प्रतिकार्यलाई प्रभावकारी बनाउन’ दर्ता गरेको ध्यानाकर्षण प्रस्तावमा छलफल गर्दै प्रतिनिधिसभाले सरकारको ध्यानकर्षण गराएको हो ।
मन्त्री पौडेलले मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने कार्य भैरहेको बताए ।
“झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रुपमा निगरानी भइरहेको छ,” उनले भने । बिरामी नियन्त्रण दर बढेको छ । तीनै तहसँग मिलेर नियन्त्रण तथा द्रुत कार्य पनि भइरहेकाले अहिल्यै स्वास्थ्य संकटकाल लगाउनु आवश्यक नभएको उनले बताए ।
हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात रहेको उल्लेख गर्दै उनले सन् २०३० सम्म हैजा निर्मूल पार्ने सरकारको लक्ष्य सुनाए । खानेपानी अशुद्धता र सरसफाइमा ध्यान नदिँदाका कारण हैजा फैलिने गरेको भन्दै उनले प्रमुख कारण नै खानेपानीमा शुद्धता नहुनु भएकाले खानेपानी मन्त्रालयसँग सम्न्वय गरेर व्यापक रूपमा सुधार गरिने प्रतिबद्धता जनाए ।