काठमाडौँ। चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस तर्फको प्रवेश परीक्षाको नतिजा प्रकाशन भएको छ । २०८१ भदौ १ गते लिइएको प्रवेश परीक्षाको नतिजा चिकित्सा शिक्षा आयोगले शुक्रबार विहान प्रकाशन गरेको हो ।
चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति भदौ १४ गतेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रम अनुसार प्रकाशन गरिएको हो । परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
आयोगको अनुसार परीक्षामा मर्याता विपरीत कार्य गर्ने, उत्तरपुस्तिकामा रोल नम्बरमा बबल बिगारेका, उत्तरपुस्तिकामा क्वेसन सेट र रोल नम्बर दुवैमा बबल बिगारेका परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ । प्रकाशित नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका आवश्यक प्रकृया पूरा गरी निवेदन दिनसक्ने आयोगले बताएको छ ।