बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्र कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो ।
अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने ३२ व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालत र १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए ।
नमूना विश्लेषण प्रयोजनका लागि सङ्कलित तीन सय नौवटा नमूना प्रयोगशाला विश्लेषणका क्रममा नौवटा नमूना प्रतिकूल पाइएकाले प्रतिकूल पाइएका ती नमूनाउपर थप अनुसन्धान अघि बढाइएको प्रमुख घिमिरेले बताए ।