काठमाडौँ । अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबिसै घण्टा आपत्कालीन उपचारका लागि तयार रहन निर्देशन दिएका छन् ।
देशभरका सबै अस्पतालका आपत्कालीन कक्षलाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धिगरी सहयोग गर्नका लागि चौबिसै घण्टा तयार रहन मन्त्री पौडेलले अनुरोध गरेका छन् ।
मन्त्री पौडेलले औषधोपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपत्कालीन औषधोपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गरे ।
उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका उल्लेख गर्दै मन्त्री पौडेलले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्नसमेत अनुरोध गर्नुभएको छ ।