मोरङ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघरसंस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।
विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउने गरिएको हो। दिवसको अवसरमा नियमित व्यायाम र खानपानबाट मुटु रोगको जोखिम कम हुने सन्देशसहित जनचेतनामूलक कार्यक्रम गरी मनाईदै छ।
खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्नुपर्ने उनीहरुको सुझाव छ । मुटुरोगको उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ । मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ ।
धूम्रपान, मदिरा, गुलिया तथा चिल्लो पदार्थ सेवन नगर्ने, नुनको मात्रा कम गर्ने, नियमित करिब ३० मिनेट व्यायाम गरेमा मुटु रोगबाट बच्न सकिन्छ । यो रोग लाग्न नदिन दैनिक शारीरिक परिश्रम, व्यायाम र नियमित रक्तचापको परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ ।
सरकारले मुटुसम्बन्धीका दीर्घ रोगीलाई रु एक लाखसम्म उपचार सेवा निःशुल्क गरेको छभने ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।