काठमाडौं । साउनयता स्क्रब टाइफसका बिरामी बढेका छन् । चितवनमा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।
साउनयता अस्पतालमा उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा २५९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सङ्क्रमितमध्ये १३० जना चितवनका रहेका छन् भने १२९ जना जिल्लाबाहिरका रहेका छन् । स्क्रब टाइफसको संक्रमणबाट ६० वर्षीया एक महिलाको मृत्यु समेत भएको छ ।
यो रोग मुसा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । यसबाट संक्रमण भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुन, टाउको, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछन् ।