काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि सङ्क्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तहका सँग आग्रह गरेका छन् ।
बाढी पहिरो पछि पानीका श्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका सङ्क्रामक रोग लाग्न नदिन आ आफ्नो तर्फबाट तयारी बढाउन मन्त्री पौडेलले तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरूसँग आग्रह गरेका छन् ।
उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि सङ्क्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । यस विपद्का समयमा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदान बारे मन्त्री पौडेलले प्रशंसा गर्दै अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्न आग्रह गरे ।
बैठकमा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पौडेललाई सहकार्यको प्रस्तावका लागि धन्यवाद दिँदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने घोषणा गरे ।