गण्डकी । गण्डकी प्रदेश मा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । हालसम्म डेङ्गु सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन पुरुष र चार महिला गरी सात जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताए । उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रुपमा फैलिएको बताए । समयमा नियन्त्रण गर्न नसके डेङ्गुले भयावह रूप लिन सक्छ उनको भनाई छ । उनले समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरे । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए ।
डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।