दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदाछ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।
मालिकार्जुन गाउँपालिका-३ अवस्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालिन जात्राबाट फर्केर गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप शुक्रवार बिहानै शैल्यशिखर नगरपालिका – ६ ग्वानीको सिराडी धारमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जीप सडक बाट करिब ३ सय मिटर तल खसेको छ। घटना स्थलमा अँध्यारो भएका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटेका छन् । घटना राति करिब ३ बजेतिर भएको अनुमान छ ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेकोे छैन ।