नयाँदिल्ली । भारतको उत्तर प्रदेश राज्यस्थित एक अस्पतालमा भएको आगलागीमा १० जना नवजात शिशुको मृत्यु भएको छ । झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबारको राति भएको घटनामा ३५ शिशुको जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । तीमध्ये १६ शिशुको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका थिए । यसै गरी आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो ।
आगलागीको घटनामा दश जना शिशुको दुखद मृत्यु भएको उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारहरूलाई बताए । उनका अनुसार घटनामा घाइते १७ शिशुहरूको सोही अस्पतालको आपतकालीन कक्षमा उपचार भइरहेको र ७ जनाको निजी अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान गरि जिम्मेवारहरू विरुद्ध कडा कारबाही गरिने पाठकले जनाउनु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत नवजात शिशुको मृत्युलाई ुहृदयविदारकु घटना भन्दै ज्यान गुमाउने शिशुका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्यका लागि निर्देशन दिएका छन् ।