इलाम । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी श्रीमद्भागवत सप्ताह महापुराण समापन समारोह एवम् अस्पताल उद्घाटन कार्यक्रममा उनले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई परिणाममुखी बनाउने योजनाका साथ काम गरिरहेको बताए ।
मन्त्री पौडेलले स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच हुनेगरी काम गरिरहेको बताए । सरकारी अस्पतालका सेवालाई व्यवस्थित गर्दै लगिएको र सबै नेपालीलाई बिमाभित्र समेट्नेगरी मन्त्रालयले तयारी गरिरहेको बताए । उनले भने स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउन श्रोतको सुनिश्चितका लागि आम्दानीका आधारमा बिमा कोषमा योगदान गर्ने व्यवस्था मिलाइनेछ ।
पाँच वटा अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र आठवटा अस्पतालमा जलन रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । २९ वर्षमाथिका सबैको क्यान्सर र किड्नी परीक्षण गर्ने कार्यक्रम ल्याउँदैछौँ”, उनले भने ।
अस्पतालको वर्गीकरणमा अस्पताल शय्याका आधारमा नभई सेवाको आधारमा वर्गीकरण गर्ने तयारी गरेको उनको भनाइ थियो ।