काठमाडौं । काठमाडौंमा सुरु भएको फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)को २४औं शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले अनुसन्धानको क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको बताएका छन ।
उनले भने,“यस्ता खालका सम्मेलन नेपालमा आवश्यक छन् । सरकारसँग समन्वय गरेर अनुसन्धान गर्ने हो भने अनुसन्धान क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।
स्वास्थ्य सचिव डा.रोशन पोखरेलले अनुसन्धानकर्ता र सरकारबीच समन्वय हुनुपर्ने धारणा राखेका थिए । समन्वयले अनुसन्धानको उपलब्धि र प्राप्त नतिजाले अझै राम्रो गर्न मद्दत गर्छ उनले भने ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अनुसन्धान सकारात्मक परिवर्तनका लागि हुनुपर्ने बताए । उनले यस्ता खालका सम्मेलनले अनुसन्धानको क्षेत्रमा थप उर्जा थप्ने विश्वास व्यक्त गरे ।
त्यस्तै जनस्वास्थ्यविद् प्रा.डा शरदराज वन्तले अनुसन्धानका नतिजाको आधारमा नेपालमा थुप्रै उपलब्धि भएको बताए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.अञ्जनीकुमार झाले नैतिक अनुसन्धानमा लाग्न अनुसन्धानकर्तालाई आग्रह गरे ।
१२ गतेसम्म चल्ने सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरू, अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू, प्राज्ञिक संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको महत्वपूर्ण उपस्थिति रहने परिषद्का सदस्यसचिव डा.प्रमोद जोशीले जानकारी दिए ।
परिषदका अनुसार सम्मेलनमा विश्वका विभिन्न २३ देशका विज्ञ तथा प्रतिनिधि सहभागी भएका छन् । अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारत लगायतका सहभागीहरुको प्रत्यक्ष तथा २०० भन्दा बढी भर्जुअल रुपमा सहभागी हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञका मौखिक र पोस्टर प्रस्तुती गरी ९० वटा प्रस्तुती छनोट भएको छ । सम्मेलनमा स्वास्थ्य अनुसन्धान र स्वाथ्य क्षेत्रमा भएका नयाँ आविष्कार, यसले पारेका साकारात्मक र नकारात्मक प्रभावका विषयमा गहन छलफल हुनेछ । ।