चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताए । अस्पतालको सबै फार्मेसीमा औषधि उपलब्ध गराउनका लागि मन्त्रालयले योजनाका साथ काम गर्दै आएको मन्त्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’ को सेवा शुभारम्भ एवं निरीक्षण तथा अनुगमन गर्दै अस्पतालले फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाउने बताए । उनले भने, “अस्पतालमा सबै औषधि उपलब्ध हुनपर्छ कुनै पनि औषधि छैन भनेमा त्यो अब गैरकानुनी ठहर हुने छ ।” उनले अस्पतालको फार्मेसीमा पाइने सबै औषधिहरूको मूल्य पनि प्रष्टसँग देखिने गरी टाँस गर्नुपर्ने बताए ।
अस्पतालले आफ्नै फार्मेसीबाट औषधि बिक्री गर्दा अस्पताललाई नै नाफा हुने बताए । साथै उनले सरकारी अस्पतालमा उपलब्ध भएको औषधि पक्कै पनि अन्यत्रभन्दा सस्तो हुनेहुँदा सेवाग्राहीलाई पनि सजिलो हुने धारणा व्यक्त गरे । देशका सबै सरकारी अस्पतालको सेवामा एकरूपता ल्याउने गरी काम गर्दै आएको उनको भनाइ थियो ।