काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ ।
मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको अतिरिक्त सचिव डा।टंक बारकोटीले जानकारी दिए।
सम्मेलनमा विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी चुनौतीको समाधान खोज्न र संवाद गर्ने मन्त्रालयले जनाएको छ । प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालासँग आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माणमा सम्मेलन कोशेढुङ्गा साबित हुने मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भिमप्रसाद सापकोटा बताए ।
डिजिटल उपकरण र प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा ल्याउन सक्ने सुधार र प्रभावबारे पहिचान तथा प्रवासी समुदायसँगको साझेदारी सुदृढ गर्न नीतिगत ढाँचाहरूबारे सम्मेलनमा छलफल गरिने जनाइएको छ ।
मन्त्रालयले अनुसन्धान, शिक्षा, र स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन अघि बढाउन अनुसन्धान र शैक्षिक पहललाई प्रोत्साहन गर्ने तथा सबै स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता संस्थाहरू र विश्वका ९० भन्दा बढी मुलुकमा रहेका स्वास्थ्य सम्बन्धी विषयमा क्रियाशील प्रवासी नेपालीको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।