वीरगंज । पर्साका सामुदायिक विद्यालयमा निम्न माध्यमिक तथा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्याड निःशुल्क उपलब्ध गराएपछि महिनावारीको समयमा पनि छात्राहरू नियमित विद्यालय आउने गरेका छन् ।
पर्साको पोखरिया नगरपालिका शिक्षा शाखा प्रमुख विजय झाले विगत चार वर्षदेखि नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा सेनिटरी प्याड उपलब्ध गराइरहेको बताए । गत वर्ष पोखरिया नगरपालिका अन्तर्गतका विद्यालयहरूमा १९ हजार ४ सय प्याकेट सेनिटरी प्याड वितरण भएको जानकारी दिए ।
सेनिटरी प्याड निःशुल्क उपलब्ध नहुँदा महिनावारी भएका बालिकाहरू विद्यालयमा चार÷पाँच दिन नआउने गरेकामा पछिल्लो समयमा प्याड निःशुल्क उपलब्ध हुन थालेपछि यो समस्या नदेखिएको झाले बताए। कार्यालयमा पनि सेनिटरी प्याडको बैङ्क राखिएको र महिला कर्मचारी, सेवाग्राहीहरूलाई यो कार्यले सुविधा भएको बताए ।