काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।
आइतबार मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेकाले समयमै पहिचान र उपचार गरि बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू पहिचानका लागि एक महिनो अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेका हुन्।
मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै रोकथामका उपायहरू जनस्तरमा पुर्याउने गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए। सोही अनुरूप उक्त निर्देशिका २०८१’ स्वीकृत गरेको जनाइएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय नसर्ने रोगहरू मृगौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिरहेको छ ।
अहिले देशैभर मृगौलासम्बन्धी रोगबाट पीडित भएर डायलसिस हुने बिरामीको संख्या बढिरहेको छ। उपचारका लागि ठूलो श्रोत साधन खर्चनु परिरहेको भएकाले सुरूवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठूलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेका हन् ।