काठमाडौं । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु गरेको छ।
अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले यसअघि नयाँ भवनमा निःसन्तान तथा सुरक्षित गर्भपतन सेवालगायत सेवा सञ्चालन भइरहे पनि आइतबारदेखि नयाँ भवनबाट आंशिक रुपमा स्त्रीरोगको बहिरङ्ग सेवा सुुरु गरेको जानकारी दिए ।
नयाँ भवनको भूइँ तल्लामा सोधपुछ कक्ष, टिकट काउन्टर, औषधि बिक्री कक्ष, ओपिडी, भिडियो–एक्सरे, प्रयोगशालाको सुविधा रहेको छ भने पहिलो तल्लामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा सुविधा रहेको डा अधिकारीले बताए।
अहिले सेवा सुरुवात मात्र गरेका छौँ । बिरामीको चाप हेरेर सेवा विस्तार गर्दै लौजाने डा अधिकारीले बताए । “पुर्णरुपमा व्यवस्थापन भएमा सम्पूर्ण सेवा यतै सार्ने छौँ ।” नयाँ भवन साढे पाँच तल्लाको छ र भवनको माथिल्लो तल्लामा छात्रावास रहेको उनले बताए ।
आगामी दिनमा यही भवनबाट विशिष्टीकृत सेवा पनि सुरु गर्ने लक्ष्य रहेको डा अधिकारीको भनाइ छ । पाठेघर क्यान्सर, पिसाब चुहिने समस्यालगायत विभिन्न विशिष्टीकृत सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए । स्त्रीरोग उपचारका लागि सरकारीस्तरमा एक मात्र केन्द्रिय ‘रिफरल’ अस्पताल रहेकाले पनि प्रसूति गृहमा बिरामीको चाप धेरै हुन्छ ।