काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ ।
आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्नका लागि एकाइ स्थापना गरेर हेल्लो हेल्थ सुरु गरिएको हो । सेवा सुरु भएसँगै नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासोहरू टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् ।
टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् । यसैगरी भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ । यसैगरी, इमेलमार्फत हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपी मा गुनासा पठाउन सकिनेछ ।
सेवा सुरु गर्दै मन्त्री प्रदीप पौडेलले नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेको बताएका छन् । यसअघि डा। अनुप बाँस्तोलाको संयोजकत्वमा गत मंसिर १४ गते एकाइ गठन गर्ने निर्णय गरेको थियो । सोही एकाइले हेल्लो हेल्थका लागि आवश्यक तयारी गरेर सेवा सुरु गरेको हो ।