काठमाडौँ । नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आगामी शनिबारदेखि यहाँ अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त अयोजनामा हुन लागेको हो ।
समाजका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । साथै सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।
सम्मेलनबाट विकासोन्मुख मुलुकमा रहेका अङ्गदानसम्बन्धी रहेका समस्या र त्यसको समाधान तथा मृत्युपश्चात् अङ्ग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै अङ्ग प्रत्यारोपण कार्य सुचारु गर्ने विषयमा छलफल हुनेछ । उनले मस्तिष्क मृत्युपछि कलेजो र मिर्गौला दान गर्न सकिने बताउँदै सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको जानकारी दिए । मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यानक्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ ।