काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् ।
आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।
यस्तै, आज बिहान ६ बजेर ४५ मिनेट जाँदा सूर्योदय भएको छ भने अपराह्न ५ बजेर १० मिनेट जाँदा मा सूर्यास्त हुनेछ ।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।