काठमाडौँ। डिसेम्बर २१ मा पहिलो पटक वर्ल्ड मेडिटेसन डे (विश्व ध्यान दिवस) मनाउन लागिएको छ। उक्त दिन विश्वकै आध्यात्मिक गुरु श्री श्री रवि शंकरले विश्वव्यापी रुपमा प्रवचन दिने भएका छन्।
संयुक्त राष्ट्र संघले यसै वर्ष देखि २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्र संघको बोर्ड बैठकले डिसेम्बर ७ का दिन उक्त निर्णय गरेको थियो ।
‘द आर्ट अफ लिभिङ फाउण्डेसन’ले गरेको पत्रकार सम्मेलनमा आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले पहिलो पटक विश्व ध्यान दिवस मनाउन गइरहेको जानकारी दिएको छन् । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि ध्यान एकदमै महत्वपुर्ण रहेको उनले बताए । उनले ध्यान दिवसको अवसरमा हुन लागेको श्री श्री रविशंकरको विश्वव्यापी प्रवचन सुन्न पाउनु महत्वपूर्ण अवसर रहेको र सो अवसर सबैले लिन आग्रह गरे ।
सो प्रवचन अमेरिकाबाट श्री श्री रवि शंकरले अनलाइन मार्फत दिने छन् । नेपाली समय अनुसार बेलुका ८ः१५ बजे देखि त्यसको प्रत्यक्ष प्रशारण हुने छ । उक्त प्रवचन सुन्न र हेर्न हरेक नेपालीहरुलाई वैद्यले आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै द आर्ट अफ लिभिङका नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहले विश्व ध्यान दिवसको अघिल्लो दिन अर्थात २० डिसेम्बरका दिन अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा श्री श्री रवि शंकरले विशेष प्रवचन दिने बताए । उनले श्री श्री रवि शंकरले मानव कल्याणका लागि ध्यान तथा अध्यात्मलाई विश्वभर फैलाएको बताउँदै त्यसैको सम्मानमा युएनले वर्ल्ड मेडिटेसन डे का अवसरमा आफ्नो मुख्यालयमा बोलाएर ध्यान तथा अध्यात्मबारेमा प्रशिक्षण लिन खोजेको बताए । प्रवचन कार्यक्रम १८४ देशमा प्रत्यक्ष प्रसारण हुने पनि उनले बताए ।
द आर्ट अफ लिभिङका नेशनल टिचर्स कोअर्डिनेटर राजेश खड्काले विश्व स्वास्थ्य संगठनले नै मानसिक स्वास्थ्य अवको महामारीको रुपमा देखा पर्दैछ भनेर चेतावनी दिईरहेको बेलामा ध्यानले त्यसको न्युनिकरण गर्न सक्ने बताए ।
संयुक्त राष्ट्रसंघले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि ध्यानको महत्वबारे जनचेतना जगाउने उद्देश्यले विश्व ध्यान दिवस मनाउने निर्णय महासभाले गरेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।