काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा विगत १५ दिन देखि उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई थप समस्या आएपछि आईसीयूमा सारिएको छ ।
एनेक्स टू वार्डमा राखेर उपचार गराइरहेका वैद्यको स्वास्थ्य थप बिग्रिएपछि शनिबार विहान सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा सारिएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । पुरानो दमको समस्या भएका वैद्यको छातीको संक्रमण देखिएको अस्पतालले जनाएको छ। एक वर्षअघि पनि दमबाट पीडित हुँदा उनले त्रिवि अस्पतालमै भर्ना भएर उपचार गराएका थिए।