काठमाडौँ । अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्यीय समिति गठन भएको छ । नेपालको २०७८ जनगणना अनुसार अटिजम भएका व्यक्तिको सङ्ख्या चार हजार आठ सय ८४ रहेकले उनिहरुको हेरचाहका लागि निर्देशिका तयार पार्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उक्त समिति गठन गरेका छन् ।
दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिमा दीपकराज सापकोटा, डा सुनिता मलेकु, डा मेरिना श्रेष्ठ र डा अरुण कुँवर सदस्य रहेका छन् । त्यसैगरी, ध्रुव केदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।
समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ । उक्त समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। साथै अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्ने उनले बताए ।