काठमाडौं । जन्मदेखि २८ दिनसम्म शिशुहरुलाई नवजात शिशु भनिन्छन । शिशु जन्मेको पहिलो मिनेटलाई उसको जीवनको लागि सुनौलो मिनेट मानिएको हुन्छ । त्यसैगरी पहिलो घण्टा पनि सुनौलो मानिन्छ र सुत्केरी आमाबको लागि पनि धेरै महत्वपूर्ण हुन्छ । त्यसैले शिशु जन्मेको पहिलो घण्टाभित्र दिइने स्याहार र त्यही समयमा सुत्केरी आमालाई दिइने स्याहार नै शिशुको स्वस्थ्य जीवनको मुख्य आधार मानिन्छ ।
अत्यावश्यक स्याहारको अभावमा हजारौँ नवजात शिशुहरु संक्रमणबाट शिकार भई मृत्युको मुखमा पुग्ने गर्दछन् ।
नवजात शिशुलाई गर्नुपर्ने मुख्य ५ स्याहारहरु :
- नवजात शिशुलाई जन्मनासाथ नरम, सफा र सुख्खा कपडाले पुछ्ने र अर्को नरम सफा कपडाले बेरी न्यानो पारेर राख्नु पर्दछ ।
- नवजात शिशुलाई आमाको नागों छातीमा सजिलो हुनेगरी (दुई स्तनको बिचमा) टाँसेर राख्नुपर्दछ । नवजात शिशु र आमा दुबैलाई न्यानो पारेर राख्नु पर्छ ।
- नवजात शिशुलाई सकेसम्म जन्मेको १ घण्टा भित्र स्तनपान गराउँनुपर्दछ ।
- शिशुको नाभि काटिसकेपछि संक्रमणबाट बचाउन नाभि मलम लगाई नाभिलाई सफा र सुख्खा राख्नु पर्छ । नाभि मलमको ट्युव खालेर पुरै मलम नाभिको टुप्पामा निर्चोनुपर्दछ र नाभि मलमलाई चोर औंलाले वरिपरि विस्तारै लगाउँनुपर्दछ । नाभि मलम लगाइसकेपछि ३ देखि ५ मिनेटसम्म खुला राखेर सुक्न दिनुपर्दछ ।
- नवजात शिशुलाई शितागं हुनबाट बचाउन जन्मेको २४ घण्टासम्म नुहाईदिनु हुदैन् । जन्मेको २४ घण्टा सम्म पनि पालो पालो गरी मनतातो पानी र नरम कपडाले पुछेर सफा राख्न सकिन्छ ।
नवजात शिशुमा देखा पर्ने खतराका चिन्हः
- छिटो छिटो सास फेरेमा (प्रति मिनेट ६० वा सो भन्दा बढी पटक)
- कोखा हानेमा
- सुस्त , बेहोस वा कम चलाई भएमा
- आमाको दुध राम्रो सँग नचुसेमा
- शितागं भएमा
- ज्वारो आएमा
- नाईटो पाकेमा वा छालामा पीपका फोकाहरु आएमा
माथि उल्लेख गरेका लक्षणहरु नवजात शिशुमा देखा परेमा नजिकैको स्वास्थ्य केन्द्रमा लैजानु पर्छ ।