काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पक्षघातको (स्ट्रोक) उपचारमा प्रयोग हुने दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्।
नेपालमा हरेक वर्ष करिब ८ सय जनाको मृत्युको प्रमुख कारण बनेको पक्षघात उपचारका लागि निकै महँगो र प्राप्त गर्न कठिन औषधी संघीय र प्रादेशिक अस्पतालमार्फत निःशुल्क उपलब्ध गराउन सम्झौता भएको छ । अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।
मन्त्री पौडेलले उपचार गर्न सकिने भए पनि औषधि दुर्लभ र महँगो हुँदा धेरैको ज्यान गुमाउनु परेको भन्दै यसलाई रोक्न सरकारले नै औषधि प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको बताए । सम्झौतामार्फत पाँच वर्षसम्मका लागि देशको आवश्यकताअनुसार औषधी प्राप्त हुने गरी मिलाइएको व्यवस्थाबाट अब पहुँच नहुनेले पनि अकालमृत्यु सामना गर्नु नपर्ने विश्वास लिए मन्त्री पौडेलले जनाए ।
जुन औषधिको एउटाको मूल्य मात्रा नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ र सहजै उपलब्ध नहुने भएकाले औषधि नपाएकै कारण धेरैको ज्यान गइरहेकाले मन्त्रालयले यस औषधिको प्राप्ति र सहज उपलब्ध गराउन पहल गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ । ‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुन्छ । एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार पर्ने गरेको छ ।