सर्लाही। तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले स्वास्थ्यसम्बन्धी समस्या बढि रहेको छ ।
हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका, वृद्धवृद्धा र ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल डा अविनाश सिंहले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले कुहिरो र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आह्वान गरेको छ । न्यानो कपडा लगाउन, बिहानबेलुका घरभित्रै बस्न र चिसोबाट जोगाउन बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन प्रशासनले अनुरोध छ ।
जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरुले बताएका छन् । सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।
समाजसेवी संस्थाले विभिन्न ठाउँमा न्यानो कपडा वितरण, काठ, दाउरा बाल्ने व्यवस्था र जिल्ला प्रशासन कार्यालय सर्लाहीले पर्सा गाउँपालिका–३ र ४ मा चिसोबाट प्रभावित अनिविपन्न गरीब तथा दलित ६८ जनालाई र विष्णु गाउँपालिका–१ बाराका ६१ परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।