डोटी । डोटीको आदर्श गाउँपालिका-१ टाँगमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन् ।
बिरामी ३० जनाको शनिबार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा उपचार गरिएको छ । उपचारमा गाउँपालिकाका एमबिबिएस डाक्टरसहित १३ जनाको स्वास्थ्य टोली खटिएको छ । अधिकांश बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीको उपचार जारी रहेको छ ।
उनीहरू सोही ठाउँ बस्ने नरबहादुर बि.क की छोरीको विवाहको भोज खाँदा बिरामी परेका हुन् । प्रहरीकाअनुसार भोज खाएका व्यक्तिहरूमा ज्वरो, वान्ता, रिंगटा, पखाला र बेहोस हुने समस्या देखिएको हो।
आदर्श गाउँपालिका स्वास्थ्य शाखाको टोलीद्वारा बिरामी परेका सबै जनाको स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए। बिरामीहरूको रगतको नमुना जिल्ला अस्पताल डोटीमा ल्याई परिक्षण भइरहेको छ । भट्टराईका अनुसार बिरामी सबैको अवस्था सामान्य छ ।
घटनामा प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।