काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बाट अमेरिका बाहिरिने घोषणा गरेपछि डब्लूएचओ ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ । यद्यपि, अमेरिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ आशा गरेको जनाएको छ ।
विश्वभरि लाखौँ मानिसहरूको स्वास्थ्य र कल्याणको लागि अमेरिका र एजेन्सी बीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर रहेको डब्लूएचओले जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेखे, डब्लूएचओले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ ।
डब्लूएचओ विश्वका मानिसहरूको स्वास्थ्य र सुरक्षाको लागि महत्त्वपूर्ण छ । विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको उल्लेख गरेको छ । सात दशकभन्दा बढी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् ।
अमेरिकी संस्थाहरूले डब्लूएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन्, विज्ञप्तिमार्फत डब्ल्यूएचओले जनाएको छ, ''हामी आशा गर्छौं कि संयुक्त राज्यले पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्ल्यूएचओ बीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौँ ।"
ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन । एएनआई