बाँके। तराईका विभिन्न क्षेत्रहरूमा बाक्लो हुस्सु र कुहिरोले जनजीवनलाई कष्टपूर्ण बनाएको छ।
शीतलहर र अत्यधिक चिसोले बाँके, बर्दिया लगायतका पश्चिम तराईका जिल्लामा जनजीवनलाई अझै कठिन बनाएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र अस्पतालका बिरामीहरूलाई यसले गम्भीर असर गरेको छ। यात्रुहरू पनि कम भिजिबिलिटीका कारण लामो र छोटो दुरीको यात्रा गर्दा समस्या भोगिरहेका छन्।
जनजीवनमा गम्भीर असर परेका कारण स्थानीय सरकारले चोकचोकमा दाउरा बाल्ने व्यवस्था गर्नुपर्ने र गरिब तथा विपन्न समुदायलाई न्यानो कपडा वितरण गर्नुपर्ने स्थानीयको माग छ। अत्यधिक चिसोले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्ने भएकाले बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन सरोकारवालाले आग्रह गरेका छन्।