काठमाडौँ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कडा कारबाही हुने जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्ता अवैध अभ्यास नगर्न सचेत गराउँदै यस्ता गतिविधि गरेर कडा कारबाही गरिने जनाएको हो । “स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू (ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण भएको तथा विभिन्न स्वास्थ्य संस्थाले सामग्री तथा सेवाहरूको संचालन स्वीकृति नलिई आमनागरिकलाई आकर्षित गर्ने गरी गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार भइरहेकाप्रति ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४५ ९२० मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने, “न्युट्रास्युटिकल्सलाई औषधिका रूपमा दर्ता गर्ने वा बिक्री वितरणको अनुमति नदिएको र यस्ता उत्पादनको जफत र कारबाहीको काम नियमित रूपमा गर्दै आएका छौँ ।”
उनका अनुसार कहीँकतै यस्तो कार्य भएको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको वेबसाइट तथा इमेलमा गुनासो गर्न सकिन्छ । साथै सबै स्वास्थ्य संस्थालाई ऐनबमोजिम गर्नुहुन तथा गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानुनबमोजिम कारबाही गर्न सबै सरोकारवालामा विज्ञप्ति मार्फत मन्त्रालयले अनुरोध गरेको छ ।