काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपीभी खोप अभियानका लागि क्यान्सर विजेता वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनीषा कोइरालालाई सद्भावनादूत घोषणा गरेको छ ।
मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले एचपीभी खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो अभियानको सुरुवात गरिएको बताए । उनले माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा यो अभियान सुरु हुन लागेको र अभियान माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने बताए । अभियानमा १०–१४ वर्षसम्मका १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपीभी खोप लगाइँने जानकारी दिए । खोप लगाउने अवधिभित्र विद्यालयमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बताए ।
सदभावना दूत सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल र अभियन्ता काइरलाले बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाजित उक्त कार्यक्रममा हस्तारक्ष गरेका छन् । उनि तीन वर्षसम्म सञ्चालन हुने सबैखाले खोप अभियानहरूमा सद्भावना दूत रहने छिन् । कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गरे ।
नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।
एचपीभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।