काठमाडौँ । नसर्ने रोगहरूको पहिचानका लागि एकमहिने अभियान सुरु भएको छ । अभियान आजदेखि सुरु भएको हो । यो अवधिसम्म केही जाँचहरू निःशुल्क गराउन सकिने स्वास्थ्यसचिव रोशन पोखरेलले जानकारी दिए । ‘समयमै नसर्ने रोगको जाँच गराऊँ, दीर्घ जीवन बाँचौँ’ भन्ने नाराका साथ संघीयस्तरबाट अभियान सुरु भएको हो ।
देशभरका सरकारी संस्थाबाट एक महिनासम्म निःशुल्क जाँच हुनेछ । नेपालमा मृत्यु र अपांगताको मुख्य कारण नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखेर यही फागुन महिनाभरि नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भएको हो ।
यदि तपाईं ३० वर्षभन्दा माथि उमेरको हुनुहुन्छ भने नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई यी जाँचहरू गराई आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिनेछ ।
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने बताए । यो सेवा निःशुल्क गर्ने बताएको छ ।
यो अभियान देशभरका स्थानीय तहअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा सञ्चालन भएको छ। स्वास्थ्यसचिव पोखरेल भन्छन्, ‘नसर्ने रोग भयावह छ । यो अभियानमा चार प्रकारका जाँच गरिनेछ । यो महिनामा स्थानीय तहलाई समेत यसको अभियान चलाउन लागेको छ । जाँच गर्दा कुनै पैसा लाग्दैन । मन्त्रालयले थप स्वास्थ्यकर्मी परिचालन गरेको छ । ३० वर्ष पुगेकाले यो जाँच गर्न सक्नेछन्। नसर्ने रोग थाहा भयो भने मानिस स्वस्थ हुन सक्नेछ र दीर्घ जीवन बाँच्नेछ ।’