काठमाडौं । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष पत्रकार पदमराज जोशी छनोट भएका छन् ।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक बर्ष प्रदान गरिने २० हजार रूपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरूद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘हेल्थ टुडे पत्रिका’का सम्पादक जोशी छनोट भएका हुन्।
पुरस्कार वितरण कार्यक्रम ९ गते शुक्रबार बिहान ७ बजे कावासोती २ सिमलघारी स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा हुनेछ। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा हुने भएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए।
विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो। एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन्। फाउण्डेसनले स्व राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरूद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एकजना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ।