काठमाडौँ । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।
चिकित्सा क्षेत्रका डा.ओम मूर्ति अनिल, टेलिमेडिसिन क्षेत्रतर्फ डा. छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनमा डा. विराजसिंह थापा, विज्ञान प्रविधितर्फ आभाष मास्के र हरिराम श्रेष्ठ, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई दिइने भएको छ । त्यस्तै खेलकुदतर्फ सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी, मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारी पुरस्कृत भएका छन्।
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ सालमा मन्त्रिपरिषद् बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।