कञ्चनपुर, १२ फागुन । शुक्लाफाँटा नगरपालिका– ४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाइएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई दक्ष स्वास्थ्यकर्मीले प्रसूति गराउँदै आएका छन । बर्थिङ सेन्टर चौबिसै घण्टा खुल्ला रहने व्यवस्था गरिएको छ ।
सुत्केरी हुने र शिशुको स्वास्थ्यलाई ध्यानमा राखि सरसफाइमा विशेष ध्यान दिइने गरिएको छ । भर्खरै जन्मेका शिशुलाई चिसोबाट जोगाउनका लागि ‘बेबी वार्मर’ मेसिन राखिएको छ । सात लाखपर्ने मेसिन सुदूरपश्चिम सरकारले स्वास्थ्य चौकीलाई प्रदान गरेको हो । शिशुलाई चिसो लाग्न नदिनका लागि मेसिनमा राख्ने गरिएको छ ।
“चिसोका कारण शिशुमा देखिने समस्या मेसिन राखेपछि हटेका छ । बर्थिङ सेन्टरमा जन्मने शिशुको मृत्यु दर शून्य रहेको छ । सुत्केरी हुने र कुरुवाका लागि हिटर बाल्ने व्यवस्था बर्थिङ सेन्टरमा गरिएको छ । गर्मीका बेला बर्थिङ सेन्टरमा गर्मी हुन नदिनका लागि दुई एसी जडान गरिएका छन ।
नवजात शिशु र सुत्केरी हुने आमालाई बथिङ सेन्टरबाटै एक जोर न्यानो लुगा दिने व्यवस्था मिलाइएको छ । सेन्टरमा सुरक्षित रुपमा दैनिक दुईदेखि तीन जनासम्म आमाहरु सुत्केरी हुनका लागि पुग्ने गरेका छन ।
बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीले सुत्केरी हुने आमालाई शिशुलाई दूध चुसाउने तरिका, सुत्केरी हुने आमालाई पोषिलो खाने कुरा खानका लागि सल्लाह दिने कार्य पनि हुने गरेको छ । बर्थिङ सेन्टरमा सुरक्षित रुपमा सुत्केरी हुने आमालाई सरकारी तवरबाट उपलव्ध गराइने यातायात खर्च र नियमति गर्भजाँच गराए बापतको प्रोत्साहन रकम उपलव्ध गराइँदै आएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।
नगरपालिकाका चार स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन ।