काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि २०८१ को तयारी पूरा भएको जनाएको छ ।कोषले आज पत्रकार सम्मेलनमा गरी बुधबार पर्न गएका महाशिवरात्रिको तयारी पूरा भएको जानकारी दिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति २०८१’ गठन गरिएको छ । मूल समिति अन्तर्गत १० वटा विभिन्न विषयगत उपसमितिहरूको गठन गरिएको कोषले जनाएको छ ।
लाखाैं संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्जनहरुलाई मध्यनजर गर्दै सुरक्षा तथा स्वास्थ्यका मापदण्डहरुलाई पालना गर्दै दर्शनकाे व्यवस्थालाई थप प्रभावकारी बनाउन काेषले उपसमितिहरुकाे गठन गरिएकाे कोषले जनाएकाे छ । महाशिवरात्रिको सुरक्षाका लागि ७ हजार बढी सुरक्षाकर्मी खटाइने जनाएकाे छ ।
यस वर्ष महाशिवरात्रिमा साधुसन्तलगायत भारतीय दर्शनार्थी बढी आउने कोषले बताएको छ । भारतको प्रयागमा भइरहेको कुम्भमेलाको कारण यस वर्ष गत वर्षभन्दा बढी साधुसन्त पशुपतिनाथ आउने कोषका परिषद् सदस्य एंव संयोजक राजकुमार खत्रीले बताए । साथै, यस वर्ष काँच र प्लाष्टिककाे प्रयाेगलाई पूर्ण निषेध गरिएकाे छ ।
महाशिवरात्रिका दिन पशुपतिमा दर्शन गर्नका लागि मन्दिर बिहान साढे २ बाट खुल्नेछ भने दर्शनार्थीको लागि ३६ घण्टा मन्दिर खुला गरिनेछ ।
त्यस्तै यस वर्ष ५ लाख बढी दर्शनार्थीले मन्दिर दर्शन गर्ने कोषको अनुमान छ । दर्शन गर्नका लागि बाहिर ४ वटा लाइनको व्यवस्था गरिएको छ ।