काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज २८औँ स्वास्थ्य सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताउनुभयो
मन्त्री पौडेलले भन्नुभयो, “एकीकृत स्वास्थ्य सेवा ऐन नै ल्याउन खोजिएको हो । सबैलाई समेटेर लैजान खोजिरहेका छौँ । ऐनलाई सरोकारवालासँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्नेछ । स्वास्थ्य सेवाभित्रका जनशक्तिका सबै विषय ऐनभित्र समेट्ने प्रयास गरिरहेका छौँ ।”
सङ्घीयता भित्र रहेर स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा काम गर्नुपर्ने मन्त्री पौडेल बताउनुभयो । स्वास्थ्य मन्त्रालयका पूर्व सचिव रोशन पोखरेलले स्वास्थ्य सेवालाई विशेष बनाउन छुट्टै स्वास्थ्य सेवा ऐन बनाउनुपर्ने प्रतिक्रिया दिनुभयो ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अरू क्षेत्रका तुलनामा स्वास्थ्यका विभिन्न सूचकमा उल्लेखीय प्रगति हुनु सुखद् पक्ष भएको बताउनुभयो
‘सर्वसुलभ स्वास्थ्य सेवा: निरोगी नेपाल हाम्रो प्रतिबद्धता’ नारासहित आज २८औँ स्वास्थ्य सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।