डा. रोशन पोखरेलले अनिवार्य अवकाश पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सिचव पद रिक्त भएको छ । रिक्त भएको सिचव पदमा मन्त्रालयकै तीन जना अतिरिक्त सचिवमध्ये एक जना सचिव हुने छन्।
सचिवको दौडमा को को छन् ?
अहिले मन्त्रालयमा नामको वर्णानुक्रम अनुसार हेर्दा अतिरिक्त सचिवमा डा विकास देवकोटा, डा संगिता कौशल मिश्र र डा टंक बाराकोटी रहेका छन्। डा देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन् भने डा संगिता र डा टंक मन्त्रालयमा कार्यरत छन्।
स्वास्थ्य मन्त्रालयमा तीनै जना अतिरिक्त सचिवलाई अब हुने सचिवको बलियो उम्मेदवारका रुपमा हेरिएको छ। नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस भएको हो । स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य एक जना सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रुपमा पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव छन् ।
समितिले १२ औं तहमा सबैभन्दा पहिले बढुवा भएकाले डा. संगीताको नाम पहिलो नम्बरमा सिफारिस गरेको हो । डा. टंक र डा. विकास भने ११ औं र १२ औं तहमा सँगै बढुवा भएका हुन् । त्यही कारण सचिव सिफारिस समितिले ९ औं तहमा झण्डै एक हप्ता अगाडि बढुवा भएका आधारमा डा. टंकलाई दोस्रो नम्बर र डा. विकासलाई तेस्रो नम्बरमा सचिवका लागि सिफारिस गरेको हो । नियुक्ति सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा नियुक्त गर्नेछ ।