बर्दिवासमा बिना दर्ता सञ्चालित पाँच वटा अस्पताललाई बन्द गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएको बताउनुभएको छ । अनुगमनको क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको भएको हो ।
शुक्रबार बेलुका उहाँले बर्दिवासको आठ अस्पताल अनुगमन गर्नु भएको थियो । तीमध्ये पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक सेवा सञ्चालन अनुमति नलिएकाले तत्काल बन्द गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले अस्पताल सञ्चालकहरूलाई विधि पूरा गरी अनुमति लिएपछि मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको बताउनुभयो । अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक स्वीकृत रहेको पाइए पनि जनसेवा हस्पिटल र डि.एन.बि मेडिकेयर सेन्टरलाई नवीकरण गराउन भनिएको छ ।